सूचना/प्रविधि

डट एनपी डोमेन दर्ता गर्दा थप १२ एक्सटेन्सन

काठमाडौं, फागुन ९ - ट्राभल एजेन्सी वा यस्तै प्रकारको कुनै व्यवसाय गर्दा वेबसाइट दर्ता गर्ने तयारीमा हुनुहुन्छ? अथवा सहकारी संस्थाको लागि वेबसाइट दर्ता गर्ने योजना बनाउँदै हुनुहुन्छ? यसो हो भने अब डटकम डटएनपी डोमेनमै भन्दा राम्रो एक्सटेन्सन सुरु भएको छ।

'विभिन्न प्रकारका संस्था र तिनका क्रियाकलापलाई संकेत गर्ने वेबसाइटका एक्सटेन्सन सुरु गरेका छौं,' मर्कन्टाइल कम्युनिकेसनका डोमेन दर्ता प्रमुख सुरज अधिकारीले भने। भरखरै सुरु गरिएको नयाँ एक्सटेन्सन अनुसार सहकारी, ट्राभल एजेन्सी, व्यावसायिक संस्था, रोजगार कम्पनी, मोबाइल सेवा प्रदायक वा बिक्रेता, एयरलाइन्स, प्रोजेक्ट, म्युजियम जस्ता संस्थाले आफ्नो प्रकृतिअनुसार वेबसाइट दर्ता गर्न पाउने छन्।
नेपालमै इन्टरनेटको डोमेन दर्ता बढ्दै गएपछि मर्कन्टाइल कम्युनिकेसनले यस्ता १२ एक्सटेन्सन थपेको छ। जसले गर्दा वेबसाइटबाटै कस्तो खालको संस्था हो भन्ने चिन्न सजिलो हुन्छ। अहिलेसम्म नेपालमै डोमेन दर्ता हुँदा ६ प्रकारले गर्न पाउने व्यवस्था भएकोमा अबदेखि १२ एक्सटेन्सन थपिएको हो।
'अहिले सहकारी संस्थादेखि लिएर कुनै कम्पनीसम्मले डटकम डटएनपी दर्ता गरेर वेबसाइट बनाउँछन्,' अधिकारीले भने, 'त्यसले गर्दा कस्तो संस्था हो जानकारी पाउन सकिँदैन।' थपिएका एक्सटेन्सनमा डटनेम डटएनपी, डटट्राभल डटएनपी, डटइन्फो डटएनपी, डटबिज डटएनपी, डटएरो डटएनपी, डटएसिया डटएनपी छन्।
यस्तै डटकोप डटएनपी, डटजब्स डटएनपी, डटम्युजिएम डटएनपी, डटमोबी डटएनपी, डटप्रो डटएनपी र डटटेल डटएनपी छन्। पहिले सबैभन्दा बढी डटकम डटएनपी डोमेन दर्ता हुन्थे। सबै प्रकारका संघसंस्था र व्यक्तिले समेत डट कममा दर्ता हुने गरेकोमा अहिले कसैको नाम र उसको विवरण राख्न डटनेम डटएनपी बनाइएको अधिकारीले बताए।
'यी डोमेन दर्ताको लागि पहिलेको भन्दा थप विवरण केही चाहिँदैन,' उनले भने। व्यक्तिको लागि हो भने उसको नागरिकताको फोटोकपी र संस्थाको लागि दर्ताको प्रमाणपत्र राखेर विवरण भरेपछि मर्कन्टाइलले डोमेन दर्ता गरिदिन्छ। अहिलेसम्म मर्कन्टाइलले डटकम, डटओआरजी, डटइडीयु, डटजिओभी, डटनेट र डटमिल डोमेनमात्र दर्ता गरिरहेको छ।
मर्कन्टाइलका अनुसार नेपालमै अहिलेसम्म दर्ता भएका वेबसाइट २७ हजार ६ सय १२ पुगेका छन्। यीमध्ये १९ हजार ४ सय ४९ वटा डट कम डट एनपी छन्। दोस्रो सबैभन्दा बढी दर्ता भएका डोमेनमा डट ओआरजी डट एनपी हो। यसमा चारहजार एकसय ६३ छन्। तेस्रो बढी दर्ता भएकोमा डट इडियु डट एनपी छ। यसम ा२ हजार चारसय २८ साइट दर्ता भइसकेका छन्।
'आवश्यकता अनुसार अरु एक्सटेन्सनहरु पनि थप्दै लैजाने योजना छ,' अधिकारीले भने। विभिन्न पेसामा संलग्न व्यक्तिहरुका लागि डोमेनबाटै उसको पेसा छुट्याउन सजिलो पार्ने गरी यस्तो सोचाइ पनि मर्कन्टाइलले बनाइरहेको छ।
नेपालमा वेबसाइट दर्ताको काम मर्कन्टाइलले गर्दै आएको छ। यसले पछिल्लो एक्सटेन्सन डटएनपी हुने सबै वेबसाइट नेपालबाटै निशुल्क दर्ता गरिदिन्छ। सन् २००१ देखि नेपालमै वेवसाइटको डोमेन दर्ता हुँदै आएको छ। सबैभन्दा बढी वेवसाइट सन् २०११ मा दर्ता भएका छन्। २०११ मा ४ हजार ४ सय २७ वेबसाइट दर्ता भएका थिए।

 

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।