एलबी थापा
प्यूठान, चैत १६ । प्यूठान सदरमुकाम खलंगा निवासी एक स्कुले किशोरीको ११ वर्षअँघि शरीरमा लागेको बमको छर्रा अँझै झिकिएको छैन । खलंगा ९ बुढाचौर निवासी पिङ्कि बि.क.ले शरिरमा लागेको बमको छर्रा आर्थिक अभावले अप्रेशन गर्न नसकेपछि शरीरभरी गोलीका छर्रा बोक्दै हिड्नुभएको छ । पढाई सकेर घर फर्कदै गर्दा २०५७ चैत २७ गते खलंगा ९ भञ्ज्याङ्गमा बाटो छेउँमा बेवारीसे छोडीएको बम बिस्फोटमा बि.क. घाइते हुनुभएको थियो । साथीहरुसँगै घर फर्कदै गर्दा बेवारिसै बम पड्किदा उहाँसँगै अन्य ५ जना साथीहरु सहित अन्य सर्बसाधारण समेत घाइते भएका थिए ।
घटनामा उहाँसँगै खलंगा–९ का पदमा विक, धन बहादुर विक, माया बस्नेत, खलंगा–२ का हुमलाल नेपाली, खैरा–१ का राधिका खड्का घाईते भएका थिए । पिडितका अनुसार बि.क. सहीत सम्पुर्ण घाइते उनीहरुले अहिलेसम्म पनि उपचार पाउन सकेका छैनन् । शरीरभरी बमका छर्रा लागेका ६ जनामध्ये घरमा आर्थिक हुने २ जनाले उपचार गराएपनि गरिब परिवारका पिङ्कि सहित ४ जनाले आर्थिक अभावले उपचार गराउन सकेका थिएनन् । चिकित्सकका अनुसार पिङ्किका शरिरका विभिन्न भागमा अँझै २०÷२५ जति छर्रा बाँकी रहेका छन् । ‘चिकित्सकले औषधि खाएमा आफै छर्रा निस्कन्छ भनेका थिए ।’ उहाँले भन्नुभयो, ‘थुपै औषधी खाएँ अझै पनि छर्रा निस्केको छैन ।’ बम बिस्फोट हुँदा कक्षा १ मा पढ्ने बि.क. अहिले स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छीन् ।
१९ वर्षिय बि.क.ले छर्रा लागेको ठाउँमा शरीर दुखीरहने भएकाले पढ्नका लागि बाधा हुने गरेको बताउनुभयो । ‘घटना भए लगत्तै नेपालगंज गएर उपचार गरेपनि शरीरको दुखाई बीसको उन्नाइस भएन’, बि.क.का बुवा गोबिन्द बि.क.ले भन्नुभयो, ‘परिवारलाई खानलाइ न पैसा पूग्दैन, झन अप्रेशन गर्ने त परैको कुरा भयो ।’ उहाँको हात, खुट्टा, ढाड र शरीरभरी बमका छर्रा रहेका छन् । ‘आफूले अर्थिक अभावकै कारण थप उपचार गराउन सकिन’ उहाँले भन्नुभयो, पैसै छैन, कसरी उपचार गर्ने, कहाँ लैजाने ? स्थानीयको सहयोगमा बिभिन्न सरकारी निकायमा पनि सहयोगको याचना गरेपनि कसैले सहयोग गरेन, बि.क.को गुनासो छ । ‘हाल आएर एकातिर गोलीको छर्रा निकाल्नुपर्ने अर्कातिर पढाई पुरा गर्नुपर्ने’ विद्यालयका शिक्षक अष्टकुमार श्रेष्ठले भन्नुभयो, ‘दुबै पिरले मानसिक पिडा थपिएको छ ।’ आर्थिक हिसावले बिपन्न परीवारका घाइते पिङ्किको घरमा उनीसँगै बुवा, आमा र ३ जना भाई छन् ।
सदरमुकाममै बेवारिसे बम बिस्फोट भएको तत्कालीन बिद्रोही पक्ष वा राज्यपक्ष दुबै पहिचान नभएकाले पिडित बि.क.को परिवाले सरकारले पिडितका लागि दिने सेवा सुविधा समेत केहि पनि पाएका छैनन् । सदरमुकमकै द्वन्द्व पिडितले राहत नपाएको दुखको कुरा भएको उल्लेख गर्दै प्यूठानका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षत्रीले उपचार र राहतका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । द्वन्द्वका बेला घाईते, अंगभंग भएकाहरुका लागि सरकारले क्षतिको प्रकृति हेरेर राहत पाउने ब्यवस्था छ । पीडित बि.क.ले स्थानीय शान्ति समिति र जिल्ला प्रशासनमा निवेदन दिएमा उपचारका लागि सिफारिस गरिदिने स्थानीय शान्ति समितिका संयोजक कृष्ण घिमिरेले बताउनुभयो । उहाँका अनुसार जिल्लाका धेरै यस्ता पीडितहरुले निवेदन दिने बारे थाहा पाएका छैनन् ।
समाचार साभारः प्यूठान समाचार साप्ताहिक
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।