Wednesday, March 21, 2012

उदयपुरकोट गाविसका सबै घरमा पक्की चर्पी

हेमराज खनाल
प्यूठान, ८ चैत्र । प्रत्येक घरमा चर्पी नहुँदा खुल्ला दिशामुक्त गाविस घोषणा गर्न ३ दर्जन गाविस बाँकी रहेका बेला जिल्लाकै एउटा गाविसमा भने सवै घरमा पक्की चर्पि बनेका छन् । खुल्ला दिशामुक्त गाविस घोषणाको लागि ८० प्रतिशत पक्की र बाँकी कच्ची चर्पि बनाउनुपर्ने प्रावधान रहेपनि उदयपुरकोट गाविसमा भने सवै घरमा पक्की चर्पि छ । यहाँका स्थानियहरुको सक्रियतामा सवै घरमा पक्की चर्पी निर्माण गरिएको छ ।

यहाँका निर्वतमान गाविस अध्यक्ष श्रीधर अधिकारीले गाविसमै पहिलो चर्पि बनाउनुभएको हो । उहाले २०६४ सालमा चर्पि बनाउनुभएको हो । ‘सवै पक्की चर्पि बनाउनुपर्छ भनेर पहल गरियो ।’ गाविस अध्यक्ष अधिकारीले भन्नुभयो । चर्पि बनाउने अभियानमा धेरैले नबुझेर चर्पि बनाउन नमानेको भएपनि पछि सवैले कुरा बुझेपछि चर्पि बनाएको प्यूठान समाचार संग अधिकारीले बताउनुभयो ।
आदिवासी जनजातीहरुको बाहुल्यता रहेको यस गाविसमा ५ सय ६८ घरधुरी रहेका छन् । जसमध्ये वडा नं १ मा ७८, २ मा ६५, ३ मा ८३, ४ मा ५५, ५ मा ४७, ६ मा ५६, ७ मा ७५, ८ मा ६८ र ९ मा ४१ घरधुरी रहेको गाविसले जनाएको छ ।
गाविसमा रहेको एउटा माध्यमिक विद्यालय तथा पाँच वटा प्राथामिक विद्यालयमा समेत पक्की चर्पी निर्माण भएको कामाक्षी माध्यमिक विद्यालयका प्रधानाध्यापक मिन बहादुर पूनले बताउनुभयो ।
गाविसका सम्पूर्ण घरधुरीलाई सरसफाई सम्वन्धि सामग्रीहरु समेत वितरण गरिएको छ । सरसफाईको क्षेत्रमा छुट्टाइएको रकम वाट उक्त सामग्रीहरु वितरण गरेको गाविस सचिव शारदाराम शर्माले बताउनुभयो । गाविसका सवै घरमा पक्की चर्पी निर्माण भएपछि गाविसलाई एक कार्यक्रमको आयोजना गरी विहिवार दशौं खुल्ला दिशामूक्त गाविस घोषणा गरिएको छ ।
यसैविच, पुजाँ गाविसको वडा नम्वर ६ र ७ लाई शनिवार एक कार्यक्रमको आयोजना गरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
समाचार साभारः प्यूठान समाचार साप्ताहिक

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।