Tuesday, March 20, 2012

२० औं पटक एसएलसी दिँदै प्यूठानका बन्धु सुवेदी

एलबी थापा  प्यूठान ७  चैत ।   पढ्नेलाई उमेरले छेक्दैन भन्ने मान्यता राख्ने प्यूठान बिजुवारका बन्धु सुवेदी यो वर्ष पनि एसएलसी परीक्षामा सहभागी हुनुभएको छ । बिजुवार ७ टारी निवासी सुवेदीको यो वर्षको एसएलसी २० औं परीक्षा हो । ४० वर्षिय सुवेदी गत वर्ष दिएको १९ औं परीक्षामा पनि अनुतिर्ण भएपछि यो वर्ष कम्मर कसेर पढिरहनुभएको छ । गत वर्ष छोरासँगै परीक्षामा सहभागी हुनुभएको सुवेदी मंगलबारदेखि शुरु भएको एसपटकको एलएलसी परीक्षा भने एक्लै बसेर तयारी गर्दै हुनुहुन्छ ।

‘२०४८ सालदेखि एसएलसी दिन थालेको हुँ’, सुवेदीले भन्नुभयो, ‘सफलता हासिल नभएसम्म परीक्षा दिइरहने अठोट गरेको छु ।’ उहाँले २०४८ सालदेखि निरन्तर एसएलसी परीक्षामा सहभागी हुँदै आउनुभएको छ ।
यस्तै उमेरले ४० नाघेकी दाङवाङकी ४२ वर्षिय नर्मता कडेँल पनि एसएलसी परीक्षामा सामेल हुनुभएको छ । प्राइभेट तर्फबाट ४२ वर्षिय मगरु अहिरले पनि परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ ।
त्यसैगरी नियमित तर्फ ३६ वर्षिय हेमबहादुर घर्तीले पनि जनता उच्च मावि बाग्दुलाबाट परीक्षा दिनुभएको छ । खुल्ला विद्यालय तर्फबाट जुम्रिकाँडा–५ का ३४ वर्षिय ओविराम बुढा, रोल्पा अरेस– ५ का ३२ वर्षिय रितबहादुर आले पनि यसपटक एसएलसी दिइरहनुभएको छ ।
जिल्लाबाट यस वर्ष एसएलसी परीक्षामा ४ हजार २६ जना विद्यार्थी सहभागी छन् । नियमित तर्फ ३ हजार ७० र एक्जाम्टेडतर्फ ९ सय ५६ जना विद्यार्थी परीक्षामा सामेल रहेकोे जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ ।

महिला केन्द्राध्यक्ष नभएकोमा महिला शिक्षकको आपत्ति
प्यूठान जिल्लामा महिला केन्द्राध्यक्ष नभएकोमा जिल्लाका महिला शिक्षकहरुले आपत्ति जनाएका छन् । जिल्लाभर तोकिएका १२ परीक्षा केन्द्र मध्येमा कुनैमा पनि महिला केन्द्राध्यक्ष छैनन् ।
वर्षभरी पढाउने महिला शिक्षकलाई गार्डको सीमाघेरा भन्दा बाहिर लान नसक्नु दुखको कुरा भएको महिला शिक्षकहरुले आपत्ति जनाएका हुन् ।
समाचार साभारः उज्यालो ९० एफएम

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।