Saturday, March 17, 2012

प्रहरीको श्रीमतीको रहस्यम हत्या

एलबी थापा प्यूठान, चैत ४ प्यूठानको स्याउलीवाङ प्रहरी चौकीका प्रहरी जवान जनक बजगाइँकी श्रीमतीको रहस्यमय ढंगले ज्यान गएको छ । कैलाली जिल्लाको बलिया गाविस घर भई श्रीमानसंग स्वर्गद्वारी दर्शन गर्न र प्यूठान घुम्न आएकी दुरपता जैसी स्याउलीवाङ वडा नंबर ३ को जंगलमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । फागुनको ८ गते प्यूठान आएकी १८ वर्षिय जैसी प्रहरी चौकीभन्दा केही तल रुखको हाँगोमा झुण्डिएको अवस्थामा फेला परेको चौकीका इन्चार्ज असई विष्णु महतराले जानकारी दिनुभयो । प्रहरीले घटनालाई आत्महत्या भनेपनि मृतक जैसीका माइती पक्षले भने आत्महत्या नभई हत्या गरिएको दाबी गरेका छन् ।
बजगाइँ दम्पतिले गुराँसको फुल लिएर सँगै फोटो खिच्ने र शनिवार घर जाने योजना बनाएका थिए । श्रीमती जंगलमा गुराँसको फुल टिप्न गएको र धेरै बेरसम्म नआएपछि खोज्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको श्रीमान जनकले बताएको चौकीले जनाएको छ । घटना भएको बेला प्रहरी जवान जनक भने चौकीमा ड्युटीमा खटिएको चौकी इन्चार्ज महतराले बताउनुभयो । रहस्यमय घटनाको बारेमा सोधपुछ र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्याउलीवाङ जिल्ला सदरमुकाम खलंगाबाट १७ कोष टाढा पर्छ । घटनाको अनुसन्धान र मुचुल्काको लागि शनिवार बिहानैदेखि इलाका प्रहरी कार्यालय लुङ्गबाट प्रहरी खटाइएको र बेलुकासम्म बिस्तृत जानकारी आउने जिल्ला प्रहरी प्रमुख डिएसपी डम्बर बहादुर बिकले बताउनुभयो ।

 

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।