Monday, February 27, 2012

आफ्नै उत्पादन गृह हुँदा-हुँदै पनि प्यूठानमा हुने भयो ६ घण्टे लोडसेडिङ

प्यूठानको एकमात्र जलविद्युत गृह झिमरुक जलविद्युतको उत्पादन गृह
एलबी थापा
            प्यूठान, फागुन १४ । राजधानी काठमाण्डौ लगायत ठूला शहरवासीले खेप्दै आएको लोडसेडिङको मार अब प्यूठानवासीले पनि भोग्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरण सिस्टम विभाग स्विचाटारले झिमरुक विद्युत उत्पादन गृहलाई पत्र पठाई फागुन १३ गते देखि लागु गर्ने गरी लोडसेडिङ गर्न १२ गते पत्र काटेपनि आउँदो २० गतेबाट दैनिक ६ घण्टा लोडसेडिङ हुने तालिका विद्युत प्राधिकरण प्यूठान शाखाले सार्वजनिक गरेको छ । स्थानीय झिमरुक जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग गर्दै जिल्लावासीले कहिल्यै पनि समस्या नभोगेको लोडसेडिङको मार खेप्नुपर्ने भएको छ । लोडसेडिङ मुक्त जिल्ला भनेर चिनिने प्यूठान झिमरुक नदीमा पानीको बहाव कम हुँदै गएको भन्दै लोडसेडिङ गर्न थालिएको विद्युत उत्पादक गृह बुटवल पावर कम्पनीले जनाएको छ । 
            दैनिक ६ घण्टाको लोडसेडिङ तालिका आए पनि कम समय गर्न तर्फ छलफल भैरहेको बुटवल पावर कम्पनीका दयाविक्रम चौधरीले बताउनुभयो । १३ गते देखि लागुहुने गरी पत्र आएपनि सवैलाई जानकारी दिनका लागि २० गते देखि गर्न लागेको उहाँले जानकारी दिनुभयो । १२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको झिमरुक आयोजनाबाट ८ मेगावाट उत्पादन हुँदै आएकोमा हाल घटेर ६ मेगावाट उत्पादन भैरहेको उहाँको भनाई छ । दिनमै कैयौं पटक बिजुली आउने, जाने र हाई तथा लो भोल्टेजले मेसिनरी सामान बिग्रिएर आजित बन्दै आएका जिल्लावासी लोडसेडिङ हुने भनिएपछि आक्रोसित हुन थालेका छन् ।
            हालसम्म लोडसेडिङ नहुने गरेको भएपनि माथिबाटै पत्र आएकोले लोडसेडिङ गर्न थालिएको विद्यूत्त प्राधिकरण प्यूठानका निमित्त कार्यालय प्रमुख बासु गौतमले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘लोडसेडिङ गर्न नहुने भनी हामीले क्षेत्रलाई चिठ्ठि पठाएका छौं ।’ रोल्पा र अर्घाखाँची विद्युत दिएपछि यस्तो समस्या आएको स्थानीयको गुनासो प्रति निमित्त प्रमुख गौतमले भन्नुभयो, विद्युत कहाँ दिने, नदिने भन्ने विषय विद्युत प्राधिकरणको नभै बुटवल पावर कम्पनिको रहेको प्रतिक्रिया दिनुभयो । लोडसेडिङमुक्त प्यूठान भनिएपनि प्यूठानमा पछिल्लो समय विद्युत घरी आउने र घरी जाने अनियमित हुँदै गएको थियो । झिमरुक जलविद्युत परियोजनाको विद्युतलाई मन्त्रिको दवावमा अर्घाखाँचीमा लाइन विस्तार गरि लोडसेडिङ मुक्त अर्घाखाँची बनाएपछि प्यूठानमा विद्युत अनियमित रुपमा जाने आउने समस्या हुँदै आएको छ ।
           आफ्नै जिल्लामा उत्पादित बिजुली आफै प्रयोग गर्न पाउनुपर्ने भन्दै लोडसेडिङ तालिका सार्वजनिक भएपछि जिल्ला स्थित क्रियाशिल राजनीतिक दल तथा संघसस्था र संगठनहरुले सरकारले राहतका कार्यक्रम संचालन गर्नुको सट्टा लोडसेडिङ गर्नुप्रति बिरोध गर्दै आएका छन् । ‘आफ्नै जिल्लामा विद्युत उत्पादन हुँदा समेत प्यूठानीले लोडसेडिङको समस्या व्यहोर्नु पर्ने दुःखको कुरा हो ।’ नेकपा मालेका जिल्ला कमिटी सदस्य तिलविक्रम के.सी.ले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मुल्य बृद्धिसँगै लोडसेडिङको तालिकाले प्यूठानीलाई चिन्तीत बनाएको छ ।’
            यसैबिच आजै जिल्लास्थित सम्पुर्ण राजनीतिक दलका प्रमुख तथा प्रतीनिधिको संयुक्त आकस्मिक बसेर लोडसेडिङ गर्न नदिन संयुक्त रुपमा बिज्ञप्ति निकालेर बिरोध गरेका छन् । यस्तै गाविस महासंघ प्यूठानका अध्यक्ष दल बहादुर केसीले प्यूठानमा लोडसेडिङ गरिए ४९ वटै गाविसका स्थानीय सडकका ओरालेर आन्दोलन गर्ने र आउँदो १८ गते हुने जिल्ला परिषद पनि गर्न नदिने चेतावनी दिनुभयो । प्यूठान जिल्लासहित झिमरुक जलविधुत परियोजनाबाट विदुत बिस्तार भएका छिमेकी जिल्ला रोल्पा र अर्घाखाँचीमा पनि लोडसेडिङ हुने बताइएको छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।