Friday, February 17, 2012

जिल्लाको औद्योगिक सम्भावनालाई विकास गर्नुपर्ने

प्यूठान, ५ फागुन । मध्यपश्चिमाञ्चल स्तरिय क्षेत्रीय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी मेलाको शुक्रवार एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पस विजुवारमा भएको उद्घाटन कार्यक्रमका सहभागीहरुले प्यूठान जिल्ला औद्योगिक विकासको लागि प्रचुर सम्भावना रहेकोले यसको विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले प्यूठानमा औद्योगिक विकास गर्न सके यसले देश विदेशमा जिल्लाको पहिचान स्थापीत गर्नमा सहयोग मिल्ने बताएका छन् ।

चार दिने मेलाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी रहनुभएका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रिले उद्योग, प्रविधिमा पछाडी रहेको प्यूठान जिल्लामा भएको क्षेत्रिय स्तरको प्रदर्शनीले जिल्लाका उद्यमीहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्नमा हौसला दिने स्पष्ट पार्नुभयो । मेलालाई सफल बनाउन उहाँले जिल्लाावासी सबैलाई आग्रह समेत गर्नुभयो ।
साना उद्योग संचालनका लागि जिल्लामा प्रसस्त सम्भावना रहेको बताउँदै स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले अल्लो, चुलेसी, अदुवा, मह, हर्वल सावुन जस्ता बस्तुहरुको प्रवद्र्धन गर्न आफुहरु प्रयासरत रहेको बताउनुभयो । क्षेत्रीय मेला प्यूठानमा हुनुलाई शौभाग्य ठान्दै विष्टले लोडसेडिङ मुक्त जिल्ला भएकाले उद्योगको विकास गर्न प्रयाप्त सम्भावना रहेकोले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकका अन्य ठाउँमा भैरहेको घण्टौको लोडसेडिङलाई लक्षीत गर्दै उहाँले जिल्लामा भएको विद्युतकै आधारमा समृद्ध प्यूठान निर्माण गर्न सकिने बताउनुभयो ।
कार्यक्रमको उद्धेश्य र महत्वबारे स्पष्ट पार्दै मुख्य आयोजक घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय प्यूठानका प्रमुख दिपककुमार आचार्यले उत्पादित बस्तुहरुको गुणस्तरियता, मुल्य जस्ता विषयमा उद्यमीहरु विच सहकार्य गर्ने वातावरण सिर्जना भएको बताउनुभयो । औद्योगिक क्षेत्रको विकास गर्न सकेमा देशको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाई थियो । मेलाको मुल्यांकन समिति गठन भएको जानकारी दिँदै उहाँले उद्यमीहरुको उत्पादित बस्तुका आधारमा प्रतिष्पर्धा गराई पुरस्कृत समेत गरिने जानकारी दिनुभयो ।
स्थानीय विकास अधिकारी भुवन प्रकाश बिष्टको अध्यक्षता रहेको कार्यक्रमको संचालन ग्रामिण आर्थिक विकास मन्च प्यूठानका अध्यक्ष विजयकुमार श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन समारोहमा प्यूठान क्षेत्र नं. २ का पुर्व सांसद मुक्तिप्रसाद शर्मा, एकिकृत नेकपा माओवादीका ओमभक्त पण्डित, राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण खड्का, नेकपा एमाले प्यूठानका अध्यक्ष हरिप्रसाद रिजाल, नेपाली कांग्रेस प्यूठानका सभापति सुभाष के.सी., नेकपा मालेका जिल्ला सचिव धनेश्वर गौतम, नेकपा एकिकृतका जिल्ला सचिव टिकाराम पौडेलको सहभागीता रहेको थियो ।
सभार: प्यूठान समाचार साप्ताहिक

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।