Monday, January 16, 2012

प्यूठानमा कृषि गणना शुरु

केशर रोका
प्यूठान, २ माघ । जिल्लाको कृषि क्षेत्रको विकासको लागि तयार गरिने नीति, योजना, कार्यक्रम, अनुगमन तथा मूल्याङ्कनका लागि आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नको लागि कृषि गणना शुरु भएको छ ।
कार्यक्रमलाई सफल बनाउन जिल्लामा गणक तथा सुपरिवेक्षकहरुलाई तालिम संचालन पछि गाँउ गाँउ पठाइएको जिल्ला कृषि गणना अधिकृत तुल्सीराम पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार गणना अवधिभर सम्पर्क, सम्वन्यको गर्नको लागि पौष १ गते देखि विजुवार प्यूठानमा जिल्ला कृषि गणना कार्यालयको समेत स्थापना गरि सकिएको छ ।

गणनाको लागि जिल्लामा ५ जना सुपरिवेक्षक, १५ जना गणकहरुलाई खटाइने समेत उहाँले जानकारी गराउनुभयो । गणनाको लागि जिल्लामा ४ सय ४१ वडाहरु मध्ये ५८ वटा वडाहरुलाई छनौट गरिएको छ । ‘जम्मा कृषक परिवार र खेती गरेको जग्गाको आधारमा उक्त वडाहरु छनोट गरिएको हो ।’ अधिकृत पोख्रेलले प्यूठान समाचारसँग भन्नुभयो । कृषि गणना नमुना छनौटको आधारमा गरिने समेत उहाँले जानकारी गराउनुभयो ।
गणनामा कृषि सम्वन्धि उत्पादन, बालीको प्रकार, मौसमी तथा वेमौसमी खेती, जग्गाको स्थिति स्वामित्व, कृषि औजार, रसायानिक मल, उन्नत जातका विउ, कृषि ऋणको आवश्यकता, खाद्यन्नको पर्याप्ता र यसको बजार लगायतका विवरण संकलन गरिने छ । बाली लगाएको क्षेत्रफल, बार्षिक हुने खाद्यन्नको उत्पादन, जग्गाको उपभोग, महिलाको नाममा भएको जग्गा, कृषि प्रयोजनको जग्गा, कृषि चलनको मूख्य उत्पादन समेत कृषि गणनामा समावेश गरिने कार्यालयले जनाएको छ ।
माघ एक गते देखि संचालन भएको गणना कार्यक्रम ४२ दिन सम्म चल्ने छ । यो कार्यक्रम १०÷१० वर्षको फरकमा संचालन हुने गर्दछ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।