जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले औषधी खरिदमा अनियमितता गरेको समाचार प्रकाशन प्रशारणमा आएपछि गल्ति ढाकछोप गर्न फेरी पनि अर्को अनियमितता गरेको छ । जिल्लाका स्थानीय पत्रपत्रिकालाई स्वास्थ्य कार्यालयले अनियमितताको समाचार गलत भएको भन्दै गल्ती लुकाउन १० हजार रुपैंया बिज्ञापनमा खर्च गरेको छ ।
यसका लागि कार्यालयले पुस २० गते जिल्लाका ४ साप्ताहिक पत्रिकालाई २५÷२५ सय रुपैंया उपलब्ध गराउने गरी सुचना प्रकाशनको लागि पत्र काँटेको छ । स्वास्थ्य कार्यालयको ‘आन्तरिक’ बजेट दुरुपयोग गरी खण्डन प्रकाशनका लागि रकम खर्चेर बिज्ञापन गर्नु अर्को अनियमितता रहेको पत्रिकाका प्रकाशक सम्पादकहरुले जनाएका छन् । जिल्लाबाट प्रकाशित हुने माण्डवी साप्ताहिक र हाम्रो एकता साप्ताहिकले विज्ञापन प्रकाशन गरिसकेका छन् । भोली बुधवार प्रकाशन हुने प्यूठान समाचार साप्ताहिकले भने विज्ञापन प्रकाशन नगर्ने पत्रिकाका प्रमुख सम्वाददाता सुजल श्रेष्ठले बताए ।गएको साता स्वास्थ्य कार्यालयले क्युरेस कम्पनिको आइरन चक्कि खरिद र कोट्रिम पिडी खरिदमा अनियमितता भएको समाचार प्रकाशनमा आएको थियो । बजारमा ४५ देखि ६२ पैसा पर्ने आइरन चक्किलाई १ रुपैंयाँ ४० पैसा र ४५ पैसामा खरिद बिक्रि हुँदै आएको कोट्रिम पिडलाई ६८ पैसामा खरिद गरेको थियो ।
जिल्लाका फर्महरुले राखेको दररेटको अनुपातमा १ लाख ६५ हजार ५ सय ३३ रुपैयाँमा खरिद गर्न सकिने अवस्था भएपनि स्वास्थ्य कार्यालयले ३ लाखमा रुपैयाँको बिल बनाई औषधि खरिद गरेको छ । बिज्ञापन खर्चेर भ्रम छर्न खोजिए पनि समाचार प्रकाशन प्रशारण गर्ने संचारकर्मी पत्रकारहरुले आफुसँग यथेष्ट प्रमाण भएको दावी गरेका छन् । विभागको निर्देशन भन्दै कार्यालयमा सुचिकृत भएका संस्थासँग कुनै सरोकार नराखि कार्यालयले कमिसनको खेलमा औषधि खरिद गरेको बताइएको छ ।
स्वास्थ्य कार्यालयमा डब्लुएचओले नै मान्यता दिएका कम्पनिकै औषधि दिन सकिने गरी राप्ती इन्टरनेसन बिजुवार, प्रकाश फर्मा बिजुवार र माउटेन्ट मेडिको बुटवलले आइरन चक्कि ४५ देखि ५६ र ३० पैसादेखि ४५ पैसासम्म खरिद गर्न सकिने गरी सुचिकृत दर्ता हुनका लागि दररेट पेस गरेका थिए ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।