Thursday, May 31, 2012

मरन्ठाना र चुँजाद्वारा विद्युतको माग


रविन पि.एम.
प्यूठान, १९ जेष्ठ ।
जिल्लामै बिद्युत उत्पादन भए पनि प्यूठानका कतिपय ठाउँहरु पनि बिद्युतिकरण देखि बञ्चित छ । जिल्लामा करिब १२ मेगावाट बिद्युत उत्पादन क्षमता भएको झिमरुक जलविद्युत उत्पादन केन्द्र छ । यसै बिच चुंजा गाविस वडानम्बर २ र मरन्ठाना गाविस ३ मा हालसम्म पनि विद्युतिकरण नभएको भन्दै सोही वडाका स्थानियले बिद्युत प्राधिकरण समक्ष पटक पटक बिद्युतिकरणको माग गर्दै आएका छन ।तर उनिहरुको माग पुरा हुन सकेको छैन । बिद्युतिकरणको माग गर्नका लागि गठित संघर्ष समितिले केहि दिन अघि बिद्युत प्राधिकरण र जिल्ला प्रशासन मा  माग पत्र पेस गरेपछि यसबारेमा छलफल गर्न आज जिल्ला प्रशासन कार्यलयमा  बोलाइएको  सर्बपक्षिय बैठक बिद्युत प्राधिकरणको अनुपस्थितिका कारण बैठक २३ गतेसम्मका लागि स्थगित भएको छ । आफुहरुको माग एक हप्ता भित्रमा पुरा नभए चुंजा २ भुल्के मुहानबाट सदरमुकाम आउने पानीको मुहान नै बन्द गर्ने संघर्ष समितिका सचिव दधिराम भण्डारीले बताउनु भएको छ ।

स्थानीय राजनीतिक दलका कारण भवन निर्माणमा ढिलाई


प्यूठान, १९ जेष्ठ । प्यूठानमा १ वर्ष बितिसक्दा समेत गाविस भवन निर्माण कार्य पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०६७/२०६८ अन्तर्गतत २०६८ असार मसान्तसम्म निर्माण भैसक्नु पर्ने मर्काबाङ गाविसको कार्यालय भवन स्थानीय राजनीतिक दलको लापरवाही र गैरजिम्मेवारपनका कारण अझै पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । गाविसको आफ्नै भवन नहुँदा मर्काबाङ गाविस कहिले विद्यालयका कक्षाकोठा त कहिले स्वास्थ्य चौकीभित्रको साँघुरो कोठामा कार्यालय सञ्चालन हुँदै आएको छ । गाविसको आफ्नै भवन नहुँदा समस्या परिरहेको सेवाग्राहीहरुको गुनासो छ ।
    २०६७ चैत ५ गतेबाट भवन निर्माण शुरु भएको गाविसको भवन हालसम्म पनि सम्पन्न हुन नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । १२ लाख ९५ लहजार ७ सय ४१ रुपैयाँ १५ पैसाको कुल लागतमध्ये निर्माण कार्य थालनीाके लागि प्राविधिक मूल्यांकन गराई निर्माण समितिलाई ९ लाख ८९ हजार २ सय ३२ रुपैयाँ अग्रिम भुक्तानी दिइसकेको गाविस सचिव चिन्तबहादुर पुनले जानकारी दिनुभयो । निर्माण समितिले तत्काल सक्रियतापूर्वक निर्माण कार्य सम्पन्न नगरे गाविस कार्यालय आफैले निर्माणको जिम्मा लिसक्ने गाविस सचिव पुनले चुनौती दिनुभयो । निर्धारित समयमै योजना सम्पन्न गर्न निर्माण समिति असक्षम भए पनि अब छिट्टै निर्माण सम्पन्न हुने समितिका अध्यक्ष हरिप्रसाद न्यौपानेले बताउनुभयो । वडा नागरिक मञ्चका संयोजक तथा भवन निर्माण अनुगमन समितिका सदस्य हेमराज अधिकारीले निर्माण सम्बन्धमा गाविस र समितिबीचको कमजोर र अपरिपब्व सम्झौताका कारण भवन वनिर्माण कार्य ढिला हुन पुगेको बताउनुहुन्छ । गाविसमा क्रियाशिल राजनीतिक दलहरु असक्षम र गैरजिम्मेवार भएका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको स्थानीयबासीहरुको भनाई रहेको छ ।

साभारः गणतन्त्र राष्ट्रिय दैनिक

Friday, April 27, 2012

प्यूठानमा धमाधम प्राइभेट उद्योगहरु खुल्दै

मध्यपश्चिममै पहिलो प्राइभेट ह्याचरी प्युठानमा

नारायण विवश
ददेरी प्युठान १२ बैशाख । मध्यपश्चिम क्षेत्रमै पहिलोपटक प्राइभेट ह्याचरी प्युठानको दधेरीमा सञ्चालन भएको छ । मध्य तथा सुदूरपश्चिम क्षेत्रलाई कुखुराका चल्ला पु¥याउने उद्देश्यका साथ सञ्चालन भएको यो ह्याचरीबाट प्रत्येक हप्ता ६० हजार चल्ला निकाल्ने क्षमता छ । हाल प्रतिहप्ता १० हजार चल्ला निकाल्न शुरु गरेको ह्याचरीमा अण्डा उत्पादनका लागि मलेसियाबाट ल्याइएका २ हजार २ सय ५० पोथी र २ सय ५० भाले राखिएका छन् ।
राप्ती फिड एण्ड ह्याचरी इन्डष्ट्री प्रा।लि।का सल्लाहकार डा. विष्णु धिताल ह्याचरीबाट हाल दैनिक १ हजार ७ सयदेखि १ हजार ८ सयसम्म अण्डा उत्पादन हुने गरेको बताउनुहुन्छ । मलेसियाबाट कब फाइ–५०० जातका कुखुरा ल्याएर ६ महिना पालेपछि अण्डा उत्पादन गर्न थालेको डा. धितालले बताउनुभयो ।

Wednesday, April 18, 2012

श्रीमानबाट पिटिएकी प्यूठानकी एक महिलाको अवस्था चिन्ताजनक

कल्पना घिमिरे ।
काठमाडौं, वैशाख ७ । मरणासन्न हुनेगरी यातना दिएर श्रीमान् फरार भएपछि प्युठान ओखरकोटकी निर्मला महतराको अवस्था चिन्ताजनक छ । खर्च नभएर उपचार गराउन नसकेकी महतरालाई महिला आयोग र पूर्वमन्त्री उर्मिला अर्यालको पहलमा बुधबार काठमाडौंस्थित वीर अस्पताल ल्याइएको छ ।

४३ वर्षे श्रीमान् हेरबहादुर महतराले राति सुतिरहेको अवस्थामा पाँच छोराछोरीकी आमा निर्मलालाई मुखमा कपडा कोचेर कुटेका हुन् । श्रीमान्ले कम्मरमुनिको भागमा जथाभावी यातना दिएपछि पाठेघरको पूरा भाग बाहिर निस्किएर अत्यधिक रक्तश्राव भएको उनले बताइन् ।

बम बिस्फोटमा एकको मृत्यु

एलबी थापा  प्यूठान, बैशाख ६ - प्यूठानको बेलवास ३ मा घरभित्र बम बिस्फोट हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । घरधनी भालु सुनारको बिस्फोटमा परी घटनास्थलमै ज्यान गएको हो । स्थानीयवासिन्दाका अनुसार यो बिस्फोटक पदार्थ सुनारको घरको माथिल्लो तल्लामा पड्किएको हो ।

Monday, April 16, 2012

घाइते महिलाको उपचारमा समस्या

प्यूठान, वैशाख ४ - श्रीमानको कुटाइबाट गम्भीर घाइते ओखरकोटकी निर्मला महतको आर्थिक अभावले उपचारमा समस्या भएको छ । ओखरकोट १ ढाड बजारमा होटल गर्ने श्रीमान हेरबहादुर महतको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन् । जिल्ला अस्पताल विजुवारले बुटवल रिफगरी बुटवलमा उपचार गराइरहेकी महतलाई बीर अस्पताल काठमाडौंमा रिफर गरेपछि उपचार गर्न समस्या परेको स्थानीयले बताएका छन् । स्थानीयको ७ हजार चन्दा जुटाएर बुटवल गएकी थिइन् । चिकित्सकले शल्यक्रिया गर्न १ लाख ५० हजार लाग्ने भनेपछि आर्थिक अभावमा घर फर्कनुपरेको छोरा राजेन्द्र महतले बताए । निर्मलाको शरीरभरि नीलडाम, चौटैचोट र पाठेघर समेत खसेको छ ।

Monday, April 2, 2012

दाङवाङमा निशुल्क स्वास्थ्य शिविर शुरु

प्यूठान, २० चैत्र । दाङवाङ माध्यामिक विद्यालय अमिली, दाङवाङ प्यूठानमा आजदेखि निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । दाङवाङ सेवा समाजको संयोजनमा धुलिखेल अस्पताल काभ्रेले स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरमा आज पहिलो दिन अहिले सम्म २ सय ४५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य शिविरमा सामान्य चिकित्साका साथै स्त्रीरोग तथा हाड जोर्नीका विरामीहरु धेरै आएको आयोजकले जनाएको छ । शिविरमा नसा तथा हाड जोर्नी, दा“त तथा मुख उपचार हुनुका साथै निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा आएका जटिल प्रकारका विरामीहरुलाई निशुल्क उपचारका लागि आयोजकले प्रयास गरिदिने बताएको छ । शिविरबाट दाङबाङ सहित छिमेकि गाविस बरौला र अर्घाखाँची जिल्लाका खिल्जि, अशुरकोटका गाविसका स्थानीयले उपचार गराइरहेको समाजका अध्यक्ष चन्द्र प्रकाश आचार्यले बताउनुभयो ।

Sunday, April 1, 2012

प्यूठानको कृषि संकलन केन्द्रको निर्माण कार्य अलपत्र

प्यूठान १९ चैत । प्यूठानको धर्मावतीमा निर्माणाधिन कृषि संकलन केन्द्र आर्थिक अभावका कारण अलपत्र परेको छ । जिल्लाको मध्य क्षेत्रका किसानहरुलाई लक्षित गरी सुरु गरिएको केन्द्रको   भवन निर्माणको पैसा अभावमा रोकिएको स्थानीय मुक्तबहादुर थापाले जानकारी दिनुभयो । कृषि विकास कार्यालयले दिएको ३ लाख ८० हजार रुपैयाँले ७५ प्रतिशत कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । कृषि विकास कार्यालयका प्रमुख श्यामप्रसाद रिजालले बाँकी रकम स्थानीय जनताले आफै जुटाउनुपर्ने बताउनुभयो ।
(समाचार साभारः दिउँसो ३ बजे उज्यालो ९० एफएमको नेपाल खवरबाट )

Saturday, March 31, 2012

प्यूठानको गोठिवाङमा एक युवती मृत फेला

एलबी थापा  ।
प्यूठान, चैत १७ गते - प्यूठानको गोठीवाङमा एक युवती मृत अवस्थामा फेला पर्नुभएको छ । गोठीवाङ ४ निवासी २० वर्षिय माया योगी आफ्नै घरमा मृत फेला पर्नुभएको हो । घरमा आफ्नै सुत्ने कोठामा मृत फेला पर्नुभएकी योगीको मृत्युको कारण भने खुल्न सकेको छैन । दिउँसो घरायसी काम गरीरहेकी उहाँ खाजा खान नआएपछि बोलाउन गएका परिवार सदस्यले मृत भेटाएका थिए । मृतकको शरिरमा कुनै पनि घाउ, चोट नलागेको र मृतकको प्रकृति हेर्दा बिष सेवन समेत नगरेको प्रहरीले जनाएको छ । मृतक युवतीको शब जिल्ला अस्पत्ताल बिजुवारमा पोष्टमार्टम गरी आज आफन्तजनलाई बुझाइएको छ ।

प्यूठानकी एक किशोरीको शरीरमा ११ वर्षदेखि बमको छर्रा

एलबी थापा
प्यूठान, चैत १६ । प्यूठान सदरमुकाम खलंगा निवासी एक स्कुले किशोरीको ११ वर्षअँघि शरीरमा लागेको बमको छर्रा अँझै झिकिएको छैन । खलंगा ९ बुढाचौर निवासी पिङ्कि बि.क.ले शरिरमा लागेको बमको छर्रा आर्थिक अभावले अप्रेशन गर्न नसकेपछि शरीरभरी गोलीका छर्रा बोक्दै हिड्नुभएको छ । पढाई सकेर घर फर्कदै गर्दा २०५७ चैत २७ गते खलंगा ९ भञ्ज्याङ्गमा बाटो छेउँमा बेवारीसे छोडीएको बम बिस्फोटमा बि.क. घाइते हुनुभएको थियो । साथीहरुसँगै घर फर्कदै गर्दा बेवारिसै बम पड्किदा उहाँसँगै अन्य ५ जना साथीहरु सहित अन्य सर्बसाधारण समेत घाइते भएका थिए ।   

Thursday, March 29, 2012

जुम्रीकाँडासहित प्यूठानका ११ गाविसहरु खुल्ला दिसामुक्त घोषणा

टीकाराम पोख्रेल
प्यूठान १६ चैत । प्यूठान जुम्रीकाँडा गाविसलाई बुधवार एक कार्यक्रमको आयोजना गरी खुल्ला दिसामुक्त घोषणा गरिएको छ । ९ सय २९ घरधुरीमध्ये ८ सय ६० पक्की र ८६ कच्ची गरी ९ सय ४६ शौचलाय निर्माण भएपछि खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ''खुला दिसामुक्त घोषणा कार्यक्रममा गाविसबा सबै वडाबाट खुल्ला दिसामुक्त गाउँ सफा पानी खान पाउँ, सफा पानी सफा घर यो नै हो रोगको उपचार, हाम्रो घरमा चर्पी छ, यसमा हामीलाई गर्व छ'' जस्ता सरसफाईसम्बन्धी प्लेकार्ड, व्यानरसहित र्याली निकालिएको थियो ।
स्थानीय विकास अधिकारी भवनप्रकाश विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रममा जुम्रीकाँडा गाविसले सरसफाइको क्षेत्रमा उल्लेख्यनीय कार्य गरेवाफत जिविसले ४० हजार र खानेपानी तथा सरसफलाई कार्यलयले २ लाख ५३ हजार नगद र प्रशंसापत्रले सम्मान गरेको थियो । गाविसले गाविस्तरीय सरसफाई समिति र प्रज्वलकलाई गाविसलाई खुल्ला दिसामुक्त गर्ने अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेबाफत सम्मान गरेको थियो ।

प्यूठानमा १८ दिनदेखि युवति वेपत्ता

एलबी थापा
प्यूठान, चैत्र १६ गते । प्यूठानमा बिगत १८ दिनदेखि एक युवति बेपत्ता हुनुभएको छ । सदरमुकाम खलंगा९ पाण्डेडाँडा निवासी सिता शाह १८ दिनदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घर नजिकै बिजुवार फाँटमा घाँस काट्न भनी जानुभएकी २२ वर्षिय शाह फागुन २८ गतेदेखि बेपत्ता हुनुभएको पारिवारिक स्रोतले जनाएको छ । खेतमा गेँजरीको घास काट्न भनी जानुभएकी शाह आजसम्म पनि घरमा नआएपछि परिवार चिन्तित बनेका छन् ।
घरबाट हराएको दिनदेखि छिमेकी, आफन्तजन लगायत जिल्लाभर चिनेजानको सबै ठाँउमा खोज खवर गर्दा समेत पत्तो नलागेको ससुरा महादेव शाहले बताउनुभयो । खोजतलासका लागि फागुन २९ गते नै इलाका प्रहरी कार्यालय बिजुवारमा खोजतलासको लागि हुलीया दिएपनि हालसम्म सम्पर्कमा नआएको उहाँले चिन्ता व्यक्त गर्नुभयो । माइती पक्षले घरबाटै हराएकाले छिटो खोज्न दबाब आउने गरेको उहाँको भनाई छ । बेपत्ता शाहको ५ वर्षिय छोरी दिनहुँ आमा कहिले आउनुहुन्छ भन्दै रोएर पिरोल्ने र सताउने गरेको ससुरा महादेवले बताउनुभयो । 

Wednesday, March 28, 2012

प्यूठानी कृषकहरु खेती गर्न छाडेर कुखुरापालनतिर

एलबी थापा, प्यूठान, चैत १५ । प्युठानको ग्रामीण क्षेत्रका किसानहरुले खेतीपाती छाडेर कुखुरापालन गर्न थालेका छन् । खेतीबाट भन्दा कुखुरा पालेर छिटो र धेरै आम्दानी हुने भएपछि किसानहरुले कुखुरा पाल्न थालेका हुन् ।

अहिले प्युठानमा २ हजारभन्दा बढी किसानहरुले कुखुरापालन गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । एकैपटकमा धेरै लगानी गर्नुनपर्ने र दुईरतीन महिनादेखि नै आम्दानी हुन थाल्ने भएकाले किसानहरु कुखुरा पाल्नतिर आकर्षित भएका कार्यालयको भनाई छ ।

Tuesday, March 27, 2012

छिमेकीको कुटाइबाट प्यूठानमा एक महिलाको मृत्यु

प्यूठान १४ चैत(रासस) ।
प्यूठानको स्वर्गद्वारी खाल निवासी एक महिलाको छिमेकीको कुटाइबाट ज्यान गएको छ । खाल गाविस – ३ निवासी पबी रानाको छिमेकीको कुटाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ६५ वर्षीया रानाको उपचारको क्रममा भैरहवामा मृत्यु भएको हो । रानालाई छिमेकी मीनबहादुर विककी १४ वर्षीया छोरी सुन्तली विक र १२ वर्षीया डुमी विकले सामान्य झगडामा लछारपछार गरी निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । 

आयोग गठनमा सरोकारवालाको जोड

एलबी थापा प्यूठान, चैत १४ गते । प्यूठानका सरोकारवालाहरुले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् । आयोग गठनको आवस्यकता र महत्व विषयक सदरमुकाम खलंगामा आयोजित जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उनीहरुले तत्काल आयोग गठन गरी सरकारले काम थाल्नुपर्ने बताएका छन् । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) प्यूठानको आयोजनामा संचालीत एकदिने अन्तरक्रियामा आयोगको आवश्यकता, गठन प्रक्रिया, आयोगले गर्ने काम कर्तब्यको बारेमा बृहत रुपमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रतिनिधिहरुले मेलमिलाप आयोग गठन गर्नमा ढिला भएको स्विकारर्दै आयोग गठनका लागि आफुहरुले जिल्ला स्तरबाटै दवावका कार्यक्रम गरी गठन प्रक्रियलाई तिब्रता दिने प्रतिवद्धता जनाएका छन् ।